The Kids Are Not Okay!


गत हप्ता भएका तोडफोड, आगजनी, गोली प्रहारजस्ता हिंसात्मक गतिविधिले तर्सिएका बाबु नानीहरुसँग कसरी र के कुरा गर्ने?

विद्या राई (काठमाडाैं)

टिकटकको एउटा भिडिओमा एक जना बालक एकोहोरो रोइरहेका छन् । सपिङ जाने गरेको भाटभटेनी जलेको देखेर छोरो रोइरहेको भन्दै अभिभावकले उक्त भिडिओ अपलाेड गरेकी छन् । भिडिओमा अभिभावकले सोधिरहेका छन्, “बाबु किन रोएको ?” बालकले भन्छन्, “भाटभटेनी जलेर !” अभिभावकले फेरि सोध्छन्, “भाटभटेनी जलेर के हुन्छ त सानुलाई !” बालकले भन्छन्, “दशैमा भाटभटेनी जान पाएन भनेर ।” एकहप्ता अघि अपलोड गरिएको भिडिओबुधबारसम्म ३२ सयले हेरिसकेका छन्, १९१ जनाले मन पराएका छन् र ३८ वटा कमेन्टहरु छन् । कतिपयले कमेन्टमा सान्त्वना दिएका छन् ।

गत हप्ता जेन जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, गोली प्रहारजस्ता हिंसात्मक गतिविधिका तस्बिर र भिडिओहरु देखेपछि बालबालिकामा पिर, चिन्ता, डर र त्रास फैलिएको छ । कतिपय अभिभावकले आफ्ना स-साना बालबालिकाको त्यो अवस्थाबारे टिकटक, इन्स्टाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमा भिडिओ सामाग्री पनि अपलाेड गरेका छन् । जहाँ बच्चाहरु रोइरहेको, पिडा, र त्रास महसुस गरिरहेको देखिन्छ ।

कोटेश्वोर भाटभटेनीको गेटबाट जलेको भवनको सरसफाइ हेर्दै । तस्विर: राजन कठेत

गत हप्ता काठमाडौं र देशैभरी भएको जेन जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले स-साना बालबालिकाहरू मानसिक आघात (मेन्टल ट्रमा) बाट गुज्रिरहेका छन् । बालबालिकाहरूले ति विध्वंसात्मक गतिविधि सामाजिक सञ्जाल र टेलिभिजनमा देखेर, अभिभावकले गरेको कुराकानीबाट थाहा पाएका छन् । कतिपय अभिभावकले छोराछोरीलाई यस्ता सामाग्रीबाट टाढै राखेपनि आइतबारदेखि स्कुल सुचारू भएपछि स्कुल आउजाउ गर्ने क्रममा घर, गाडी, सरकारी तथा नीजि भवनहरू जलेको देखेर साथै साथीभाइहरूबाट सुनेर थाहा पाएका छन् । कतिपयले घटना हुदाबखत अभिभावकसंगै जाेगिने क्रममा त कतिपयले छिमेकको घरमा आक्रमण, आगजनी भएको देखेर थाहा पाएका छन् । यसरी घटनासंग ‘एक्सपोजर’ भएका स-साना बालमष्तिष्कमा यसको असर परेको मनोविदहरु बताउँछन् ।

गत भदौ २३ र २४ गते व्याप्त कुशासन, भ्रष्ट्राचार र एकसाथ २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएकाे सरकारी निर्णय विरुद्ध देशव्यापी जेन जी आन्दोलन भयो । पहिलो दिन प्रदर्शनकारीमाथि प्रहरीले बलजफ्ती दमन गर्दा काठमाडाैंकाे नयाँबानेश्वरमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भयो । यही आक्रोश विरुद्ध भोलीपल्ट गरिएको प्रदर्शनमा अराजकता घुसेपछि प्रदर्शनकारीले देशकै संघीय राजधानीमा संसद भवन, अदालत, प्रहरी चौकी, सिंहदरबारका मन्त्रालयलगायतका सरकारी संरचना, शपिङ मल, सुपर मार्केट, गाडीका शोरुम, नेता र व्यापारीका घर, राजनीतिक दलका पार्टी कार्यालयहरु, सवारी साधनहरुमा आगजनी गरे ।

बालुवाटारकी आस्था पन्तको घर प्रधानमन्त्री निवास आसपास पर्छ । भदौ २४ गते प्रदर्शनकारीहरुको एउटा समूहले प्रधानमन्त्री निवास लगायतका भौतिक संरचनामा विध्वसं मच्याएका थिए । आन्दोलनकारीले होहल्ला गर्दै, ढुंगामुढा गर्दै, आगजनी गरे । त्यसको प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएको र हेलिकप्टर उडिरहेको घटनाहरु उनकी छ बर्षकी छोरीले ‘नोटिस’ गरिरहेकी हुन्थिन् । आस्थाले पनि बाहिर बम पड्कीरहेको आवाज आइरहेको हुनाले छोरीलाई झ्याल छेउछाउ नजान र कौसीमा ननिस्कन भनेकी थिइन् । यो कुराले छोरी झस्किरहेकी हुन्छिन् ।

“यहाँ ‘सेफ्टी इस्यु’ छ भन्ने उसलाई मनमा भैरहेको जस्तो छ, “झ्याल छेउ जान मिल्छ मिल्दैन”, “कौसीमा निस्कन मिल्छ मिल्दैन” भनेर सोधिरहेको हुन्छ,” आस्थाले भनिन् । कक्षा १ मा पढ्ने छोरीको स्कुल सोमबार दिउसो देखि नै छुट्टी भएको थियो । उनी घरैमा अभिभावकसित रहेपनि बढि सचेत भएको व्यवहार देखाउँछिन् । उनलाई सहज गराउन आस्था र उनका श्रीमानले छाेरीसंग कुराकानी गरिरहने, साेधेको प्रश्नका जवाफ दिइहाल्ने प्रयत्न गर्छन् ।

“छोरीले किन यस्तो भयो भनेर सोध्दा देशमा राम्रो हुन लागेको छ, नयाँ परिवर्तन ल्याउन बेलामा केही नराम्रो पनि त हुन्छ, जस्तो तिमिलाई जन्माउने बेलामा मलाई कति गाह्रो भएको थियो, अनि बल्ल तिमि जस्तो राम्रो छोरी जन्मिएको थियौ भनेर बुझाउने कोशिस गर्छु,” आस्थाले भनिन् ।

Himal Subedi/ Wikimedia Commons

आन्दोलनले सुरक्षा जोखिम बढाएपछि विद्यालयको पठनपाठन एक्कासी रोकियो । गत हप्ता भक्तपुरमा वि क्यान प्रि–स्कुलकी प्रिन्सिपल शुष्मा दाहालले रुटिन लाइफमा बानी परेका अटिजम भएका बालबालिकाको स्कुल अचानक रोकिइदा र ढुक्कले बाहिर हिडडुल गर्न बाहिर निस्कन नपाउँदा अभिभावक र बच्चाहरुमा छटपटी सिर्जना भएको बताएकी थिइन् । पछिल्ला दिनहरू दैनिकी विस्तारै सामान्य बन्दै गएपछि आइतबारदेखि प्रि-स्कुल सुचारु गरे । शुष्माको प्रि–स्कुलमा प्ले ग्रुप, नर्सरी र एलकेजीमा पढ्ने ३५ विद्यार्थी छन् । एक हप्ताको घर बसाइपछि स्कुल आउन पाउँदा बालबालिकाहरु खुसी भए पनि, उनीहरुमा एक किसिमको डर र चिन्ता देखिन्छ ।

शुष्माले सबैजसो बालबालिकामा घर बाहिर निस्कनु हुदैन भन्ने डरको मानसिकता बसेको पाइन् । “माहौल बाहिर राम्रो छैन, निस्कनु हुदैन, गोली हानिदिन्छन् भन्नेसम्मको डर मानिरहेको पनि पाए,” उनले थपिन् ।

बालदिवसकै दिन (भदाै २९) स्कुल सुचारु गरेको हुदा बालबालिकाहरुलाई सकेसम्म रमाइलो गराउने प्रयत्न गरेको शुष्माले सुनाइन् । “उनीहरू जसरी खुसी हुन सक्छन् र पिडा भुल्न, सामान्य स्थितीमा फर्कन सक्छन्, विभिन्न गतिविधिहरू गरायौ, बालदिवस कै दिन परेकोले चकलेट गिफ्ट शेयरीङ गरायौ, कसैले नाँचे, कसैले गाए, कसैले खेले,” उनले भनिन्, “एकहप्तापछि बच्चा एकदमै खुसी भएको भनेर एकजना अभिभावकले खुसी शेयर गर्नुभएको थियो ।”

कतिपय बालबालिकाले संगै जोडिएको घरमा अगाडी दनदनी आगो बलिरहेको, कुट्लान्, काट्लान् भन्ने डरको स्थिती पनि देखेको हुनाले बच्चाहरू सम्हाल्न गाह्रो भैरहेको सुनाउने गरेका थिए । 

“कतिपय अभिभावकले जानेर र नजानेर यस्तै समाचार साना बच्चाहरुको अगाडी हेरिरहेका हुन्छन्, जो बच्चालाई आन्दोलन भनेकै के हो थाहा हुदैन, आठबर्षमुनिका बच्चाहरु साच्चिकै प्रतिकुल परिस्थितीको मारमा छन्,” काठमान्डु युनिभर्सिटीबाट प्रारम्भिक बाल विकास बिषयमा ‘एमफिल’ गरिरहेकी शुष्माले भनिन् । उनकै अध्ययनअनुसार प्रारम्भिक बाल विकासको उमेर समुहका बालबालिका बढि संवेदनशिल हुन्छन् ।

युनिसेफका अनुसार बच्चा जन्मेदेखि आठबर्ष उमेरसम्मको अवधिलाई प्रारम्भिक बाल विकासको चरण मानिन्छ । बालबालिकाको मष्तिस्क विकासको संवेदनशिल चरण भएकाले अभिभावकको पालनपोषण, हेरचाह, र वरपरको वातावरणले महत्वपुर्ण भुमिका खेल्दछ । साथै बालबालिकाको शारिरीक, मानसिक, र भावनात्मक विकासको महत्वपुर्ण चरण पनि यही नै हो ।

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेपछि काठमाडौं उपत्यकाको जनजीवन पुरानै लयमा फर्किन थालेपछि आइतबारदेखि कक्षा सुचारू गरेका हुन् । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयको पठनपाठन सुचारुका लागि आइतबारदेखि नै आवश्यक तयारीमा जुट्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको थियो । विद्यालयमा कुनै क्षति भए नभएको यकिन गर्दै अभिभावकसँग सम्पर्क गरेर विद्यार्थीको अवस्था बुझ्न र भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्ता हिंसात्मक गतिविधिले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भिर असर गर्ने अध्ययनहरुले देखाएका छन् । गतबर्ष बाङ्लादेशमा भएको हिंसात्मक प्रदर्शनले गर्दा स्कुल जाने उमेरका ४५.५ प्रतिशत बालबालिकामा मानसिक आघात र अस्थिरता थपेको सर्भेले देखाएको थियो । उनीहरुमा बाढि लगायतका विपद् र कोभिड महामारीको सन्त्रास नसकिदै राजनीतिक परिवर्तनका लागि भएको युवा आन्दोलनले अझ डर र चिन्ता थपेको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार जुनसुकैखाले द्धन्द्ध तथा संकटद्धारा उत्पन्न हुने पिर, चिन्ता, असुरक्षाको अवस्थाले बालबालिकाको प्रारम्भिक बाल विकास, सिकाइ र दिमागी विकासमा उल्लेख्य अवरोध पुर्याउँछ । यही उमेरका बालबालिकाले आफ्ना बुझाइहरु अभिव्यक्त गर्न नसक्ने हुदा अभिभावकले पनि बुझ्न गाह्रो भैरहेको हुन्छ । यस्तो बेलामा मस्तिष्कमा पर्ने नराम्रो छापले लामो समयसम्म प्रतिकुल असर पार्ने हुदा अभिभावकहरु नै बेलैमा सावधानी अपनाउनुपर्ने मनोचिकित्सक र मनोविदहरूले बताउँछन् ।

उनीहरूका अनुसार होहल्ला, हुलदंगा, ढुंगामुढा गरेको, गोली चलाएको, मान्छे मारिएको, घाइते भएको, रगतपक्ष भएको, आगलागी भएको, धुलोधुवा फैलिएको डर, त्रास, भय, विभत्स घटना अन द स्पट हेरेर वा मोबाइल / टेलिभिजन स्क्रिनमा तस्बिर र भिडिओहरु देखेपछि डराउने, अतालिने, झस्किने, नराम्रो सोच आउने, निदाउन नसक्ने, असुरक्षित महसुस गर्ने, चिटचिडाहपना हुने,, बढी रुने, रोएपछि शान्त बनाउन गाह्रो हुने, खाना नखाइदिने, मानसिक समस्यालाई बच्चाहरूले व्यक्त गर्न नसक्ने भएकाले शारिरीक लक्षण देखाउने, स्कुल जान नचाहाने, स्कुल गएपनि टोलाउने, खेल्न नजाने हुन्छन् । घरमा  ढोका लगाउँदा, किलाकाटी ठाेक्दा आउने आवाजले पनि डराउने हुन सक्छन् ।

“क्षति गरिएका कति घरका बच्चाहरूले अभिभावकसंगै अतालिएर भाग्नुपरेको छ, अर्काको छिमेकीको अवस्था वा बाहिर स्कुल वा कतै आउजाउ गर्दा सरकारी नीजि संरचना जलेको देखेका छन्, कतिको स्कुल जलेको छ, स्कुल जलाइएको सुनेका छन्, यस्तो किन भैरहेको, पहिला त बच्चामा द्विविधा पैदा हुन्छ, अनि जहिले पनि ‘सर्भाइभल मोड’ भन्छ साइकोलोजिकल भाषामा, एकदम अलर्ट भएर बसिरहनुपर्ने, कही केहि हुन्छ कि कोही हुन्छ कि भनेर,” मनोविद् करूणा कुँवरले भनिन्, “बच्चा सोध्दा अभिभावकलाई थाहा छैन कसरी ‘डिल’ गर्ने भनेर किनभने आफै पनि एकदमै तनाव अवस्थामा हुनुहुन्छ ।”

अभिभावककाे त्यो ‘सर्भाइभल मोड’ले गर्दा बच्चालाई पनि प्रभाव पार्छ । अभिभावक नै सकेसम्म पहिलेकै दिनचर्यामा फर्कने, छोराछोरीसँग उनीहरूले बुझ्ने भाषामा घटनाक्रम बताउने, सँगै खाना खाने, सँगै समय बिताउने, समाचार फोन हेर्न कम गर्ने, वास्तविक खालका सकरात्मक आशाका कुराहरू शेयर गर्ने गरेर आघात कम गर्न सकिने मनोविद् कुँवर सुझाउँछिन् ।

मनोचिकित्सक ऋृषभ कोइरालाले पनि यस्तो असामान्य परिस्थितीमा अभिभावकले नै सम्हालिएर सकरात्मक र संयम भएर सहजीकरण गर्नुपर्ने जोड दिन्छन् । “अभिभावक कै मुख्य भुमिका हुन्छ, किनभने बच्चाले आफ्नो अभिभावकलाई हेरेर मानसिकता बनाइरहेको हुन्छ, यती गर्दा गर्दै पनि बच्चा डराउने, तर्सिने, आत्तिने, बोलचाल कम गर्ने जस्तो असामान्य व्यवहार देखाउँछ भने बाल विशेषज्ञमा जानुपर्छ,” उनको सुझाव छ ।

यता भक्तपुरकै अर्का अभिभावक विशाल भण्डारीले भने छ बर्षको आफ्नो छोराको हेरचाहमा मनोचिकित्सक कोइरालाले भनेजस्तै बिशेष ध्यान दिने गरेको सुनाए । “मैले र मेरो श्रीमतीले आगो बलिरहेको, गोली चलिरहेको भिडिओहरु उसको अगाडी हेर्दैनौं, अनुशासनमा बस्नुपर्छ भनेर सिकाएका छौ, उसलाई फोन चलाउन परे हाम्रै ‘कन्ट्रोल’मा हुन्छ,” उनले भने । तर सबै बालबालिकाले अभिभावकबाट यस्तो वातावरण नपाउने हुदा प्रारम्भिक बाल विकासको चरणमा रहेका बालबालिकालाई नयाँ पुस्ताकै आन्दोलनले नराम्रो मानसिक आघात पार्न सक्ने चिन्ता व्यक्त गरे ।

मानसिक रोग विशेषज्ञ डा. रितेश थापाले नानीबाबुहरुमा डर र आघात कम गर्न बाबुआमाले बेलैमा संयमता अपनाएर ‘साइकोलोजिकल फस्ट एड’ (पिएफए) गराउनुपर्ने सल्लाह दिन्छन् । “प्रदर्शनपछि सुरक्षित छ भन्ने बाबुआमाले महसुस गराउनुपर्छ। ‘ओभर प्रोटेक्टिभ’ हुनु हुदैन । अहिलेको बच्चाहरु त्यस्ता घटनासंग फोनमा हेरेर, साथीसर्कलमा सुनेर, वा कतै न कतैबाट थाहा पाइहाल्छन्, त्यही भएर बच्चाले बुझ्ने सरल भाषामा भनिदिनुपर्छ,” थापाले भने, “दुइ दिनको आन्दोलनमा भएको क्षतिले असर सबैलाई पार्छ नै, तर बच्चाहरूको हकमा बाबुआमा नै संयम हुनुपर्यो, बाबुआमा आफु आत्तिएर बच्चा नरोउ भनेर विश्वास गर्दैन, उनीहरुलाई खुसी राख्न ध्यान दिनुपर्छ ।”