फरार कैदीले जनतामा त्रासः यौनजन्य एवम् लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षाको प्रत्याभूति गराउन गाह्रो

कारागार व्यवस्थापन विभागको अनुसार भाग्नेहरूमा सबैभन्दा बढि बलात्कार र लागूऔषध सम्बन्धी  कसुरका कैदीहरु छन् । लैङ्गिक हिंसा पीडित महिलाहरुलाई  जोगिन थप चुनौती।

विद्या राई (काठमाडाैं)

यतिखेर देशैभरी दसैंको रौनक छ । ललितपुरकी ३० बर्यीया कमलाका लागि यही दसै फिका छ । जेन जी आन्दोलनको दोस्रो दिन कारागार ताेडफाेड र आगजनी गर्दै कैदीबन्दीहरू भागेदेखि नै उनलाई डर, त्रास र असुरक्षाले पिराेलेकाे छ । दुई वर्ष अघि कमलाकी ९ बर्षकी छोरीलाई छिमेकीले फकाइफुल्याइ गरेर घरैमा बलात्कार गरेका थिए । “दाेषीकाे श्रीमतीबाट भर्खरै जन्मेको बच्चा हेर्ने, खेलाउने रहर लागेर कमलाकी छोरी आउनेजाने गर्ने रहेछिन् । त्यही मौकामा ललाइफकाइ गरेर घरको कोठामा लगेर त्यस्तो गरेको रहेछ,” उक्त घटनाकी जानकार अधिवक्ता अनिता न्यौपानेले सुनाइन् ।

२०८० सालमा बलात्कार कसूरमा अदालतबाट दाेषी प्रमाणित भएपछि जेल चलान भएका ती छिमेकीले निस्केपछि “छाेरी मारिदिने” धम्की दिएका थिए । “अहिले त्यसैकाे खतरा बढेकाे छ,” अधिवक्ता न्यौपानेले कमलालाई उद्धृत गर्दै भनिन् । (पीडितकाे सुरक्षा गाेपनीयताका लागि उनकाे वास्तविक नाम खुलाइएकाे छैन) । 

देशमा व्याप्त नातावाद, भ्रष्ट्राचार र २६ वटा सामाजिक सञ्जालमाथि एकसाथ प्रतिबन्ध लगाइएको अघिल्लाे सरकारकाे निर्णय विरुद्धकाे देशव्यापी जेन जी आन्दोलनको दोस्रो दिन अर्थात गत भदाैं २४ गते कैदीबन्दीहरू कारागारबाट निस्केर घर, गाउँ, टाेल र बस्तीतिर तितरबितर भएका थिए । यसले टाेल बस्तीहरूमा मानिसहरूले सुरक्षा चुनाैती महसुस गर्न थालिसकेका थिए । कमलाले पनि साथीहरूसँग खेल्न निस्केकी आफ्नी छाेरीलाई हत्त न पत्त घरैमा बोलाइन् । घरैभित्रै राखिन् । भाेलिपल्ट पनि कैदीहरू भाग्ने क्रम चलि नै रह्याे । अर्काेदिन पनि कमलाले छोरीलाई बाहिर कतै निस्कन दिइनन् । 

ज्यान जाेखिमकै सवाल भएकाले कमला भने कैदीहरू भाग्न सुरू गरेकाे तेस्राे दिन कानुनी सेवा लिदै गरेकाे संस्थामा गुहार माग्न पुगिन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी जारी गरेको निषेधाज्ञा र कफ्यु छिचाेल्दै उनी भदाैं २६ गते कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) काे कार्यालय पुगिन् । “हामीसम्म आइपुग्दा उहाँ अत्यन्तै डर र त्रासमा हुनुहुन्थ्याे,” संस्थाकी कार्यकारी निर्देशक समेत रहेकी अधिवक्ता न्यौपानेले सुनाइन् । कमलाकी छोरीलाई बलात्कार गर्ने दोषी कारागार भित्रै छन् वा बाहिर छन् भन्ने यकिन छैन । तर, १४ हजारभन्दा बढी कैदीहरु कारागार बाहिर निस्केपछि भयवित छिन्, मानसिक रूपमा बिथाेलिएकी छन् ।

हिमाल सुवेदी / विकिमिडिया कमन्स्

कमलाकी नौ बर्षकी छोरीमाथि बलात्कार गर्ने छिमेकीले सुरूदेखि नै धम्क्याउदैं आएका छन् । प्रहरीमा घटनाकाे उजुरी दिएपछि पीडकले उल्टै डरधम्की देखाएर गाउँमै मिलाउने प्रपञ्च रचेका थिए । कानूनी सहयोग तथा परामर्श केन्द्रले पीडित पक्षलाई कानूनी सहायता र मनोसामाजिक परामर्श उपलब्ध गराएपछि बलात्कार कसूरमा मुद्दा अघि बढेकाे थियाे । पीडकलाई थुनामै राखेर अनुसन्धान गरिएको थियो । २०८० सालमा जिल्ला अदालत ललितपुरले मुलुकी अपराध संहिता २०७४ को जबरजस्ती करणी सम्बन्धी कसूरको दफा २१९ (३) (क) अनुसार बलात्कारको दोषि ठहर गर्दै जन्मकैद र पाँच लाख जरिवाना तोक्यो । साथै पिडितलाई एक लाख क्षतिपुर्ती भराएकाे थियाे । 

पीडकले जिल्ला अदालतकाे फैसला विरूद्द उच्च अदालतमा पुनरावेदन समेतगरेका थिए । उच्च अदालतले दुई महिना अघि मात्रै जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि केही ढुक्क भएकी कमलालाई कैदीबन्दीहरु भागेको घटनाले बेचैन बनाएको छ । ल्याक कार्यालय पुगेकी उनलाई कानुन अधिकृत र मनाेविमर्शकर्ताले मनाेसामाजिक परामर्श दिए । आवश्यक परेमा शेल्टर हाउसमा बस्ने व्यवस्था गरिदिने ल्याकले बचन समेत दिएको छ । 

पछिल्लो पाँच बर्षमा देशैभरीबाट ११ हजार ९ सय ४९ वटा महिला तथा बालिकालाई बलात्कार भएको प्रहरीमा उजुरी परेको छ । दैनिक औसत ६ देखि ७ महिला र बालिका बलात्कार जस्तो जघन्य अपराधको सिकार हुने गरेकाे प्रहरीकाे अभिलेखले देखाउँछ ।

असुरक्षा र अपराधकाे भय

जेन जी आन्दोलनको पहिलाे दिन १९ जना प्रदर्शनकारीकाे सरकारले गाेली हानी हत्या गरेपछि कर्फ्युका बाबजुत पनि दाेस्राे दिनकाे प्रदर्शन बिहानैदेखि आक्रामक बनेको थियो । संघीय संसद भवन, प्रहरी कार्यालयहरू, सिंहदरबार, अदालत, व्यापारिक भवन, नीजि तथा अन्य सरकारी संरचनाहरूमा ढुंगामुडा, ताेडफाेड, आगजनी भैरहेकाे थियाे । काठमाडौं उपत्यकामा मात्रै २१९ वटा प्रहरी कार्यालयका भवनहरूमा क्षति भएको थियो । ती  मध्ये १४ वटा भवन पुननिर्माण नगरी सञ्चालन गर्न नसकिने गरी ध्वस्त भएका थिए।

सुरुमा, भदौ २४ गते दिउसो साढे तीन बजेतिर, प्रहरी प्रशासनको कमजोर उपस्थितीको मौका छोपेर केहि प्रदर्शनकारीहरूले सहकारी ठगि प्रकरणमा कारागार चलान भएका पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई नख्खु जेलबाट भगाएका थिए । यसबारेको समाचारहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फैलिएपछि अन्य कैदीबन्दीहरुले आफुहरुले पनि कारागारबाट रिहा हुन पाउनुपर्ने माग गर्दै ढुंगामुढा, तोडफोड र आगजनी गर्दै भागेका थिए । सोही बेलुकी सुन्धारास्थित केन्द्रीय कारागारमा भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमालेका नेता एवम् पूर्वमन्त्री नेता टोपबहादुर रायमाझी पनि भागेका थिए । कारागार व्यवस्थापन विभागमा बन्दी प्रशासन शाखाका निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार लामिछाने र रायमाझी जसरी देशभरका १४ हजार ५५ कैदीबन्दी कारागारबाट भागेका थिए ।

कारागार व्यवस्थापन विभागमा निर्देशक न्यौपानेका अनुसार भाग्नेहरूमा सबैभन्दा बढि बलात्कार र लागूऔषध सम्बन्धी  कसुरका कैदीहरु थिए । अहिले फरारकाे सूचीमा पनि तीनै गम्भीर अपराधका अभियुक्त र दाेषीहरू बढि रहेकाे उनले स्पष्ट पारे ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरे भन्छन्, “कैदीबन्दीहरु भागेको, हतियार, गाेलीगठ्ठाहरु लुटिएकोले गर्दा डरत्रासको स्थिती हुने नै भयो, बदलाको भावना लिएकाहरूले समाजमा थप अपराध, चाेरी डकैती गर्नसक्ने सुरक्षा चुनाैतीकाे जाेखिम बढेकाे छ ।” 

बितेका केहि हप्तामै असुरक्षा र अपराधकाे भय देशैभरि महशुस हुन थालिसकेको छ। चार वर्षअघि गाउँकै महिलालाई बलात्कार गरेको अभियोगमा कारागार चलान भएका काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले नख्खु जेलबाट भागेकाे ११ औ दिनमा श्रीमतीकाे हत्या गरेका थिए । काभ्रेका तामाङ श्रीमती हत्या गरेपछि नख्खु जेल फर्किएका थिए । तामाङले आफ्नी श्रीमती परपुरुषसँग लागेको शंका लागेर कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निमित्त प्रवक्ता दिनेशबहादुर कुँवरले बिहिबार बोजुबजैसित भने, “कुटपिट गरेर बेहोस भएको श्रीमती नउठेपछि घरपरतिर बारीमा गाडेर नख्खु जेल नै फर्किएको रहेछन्, यो सन्तबहादुरले स्विकारेको अवस्था छ, यो घटनामा उनको आमा पनि मतियार देखिएकोले अनुसन्धान भैरहेको छ ।”

बलात्कार अभियोगकै सजाय भुक्तान गरिरहेका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारले पनि कारागारबाट भागेको भाेलीपल्टै एक स्थानीय महिलालाई बलात्कार प्रयास गरे । बलात्कार प्रयास भएर ती महिला चिच्याएपछि भाग्दै गरेका सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। 

भदाै २६ गते कारागार व्यवस्थापन विभागले कैदीबन्दीहरुलाई फर्कन उर्दी जारी गरेपछि लामिछाने र रायमाझी सहित कतिपय जेल फर्किए । कतिपयलाई प्रहरीले पक्राउ समेत गर्याे । केहीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । तर अझै पनि ६ हजार जति फरारकै सूचीमा छन् । 

बदलाकाे खतरा

कारागारबाट निस्किएकाहरूले उस्तै प्रकृतिकाे अपराध र हत्या समेत गरेकाे घटनाहरूले हिंसा प्रभावित महिला र बालबालिकालाई डर, भय थपेको छ । ल्याककी कार्यकारी निर्देशक न्यौपाने भन्छिन्, “कैदीहरु भागेपछि बलात्कार, हत्या जस्ता गम्भिर प्रकृतिका घटनाका प्रभावित दिदी, बहिनीहरुमा एकदमै डर पैदा भएको छ किनभने अपराध गर्नेले पहिले जेल जादैखेरी धम्की दिएर गएको हुन्छ । अहिले धम्क्याउन चाहि नधम्याउलान्, लुकेरै बस्छन्, तर बदला लिनका लागि आक्रमण गर्ने सम्भावना हुन्छ ।” 

मानव बेचविखनकाे मुद्दामा बहस पैरवी गर्ने अधिवक्ता उमा तामाङले कैदीहरू जेलबाट भागेपछि पिडित प्रभावित महिलाहरुले भेटेर, फोन गरेर डर, असुरक्षा र चिन्ता व्यक्त गर्ने गरेकाे बताइन् । “कैदीहरु जेलबाट भागेछ । अब हामीलाई जोखिम हुने भयो । दशैमा घर जानुछ । उनीहरु पनि घर पुग्छ होला भनेर डर मानिरहेकाे छन्, ” असाेज ८ गतेकाे कुराकानीमा उनले भनिन् ।

ल्याकले भने आफुले हेर्दै आएको मुद्दाका दैनिक १० भन्दा बढी पीडितलाई सम्पर्क गरेर (फलाेअप) मनोसामाजिक अवस्था बुझ्ने, नआत्तिन, मनोबल उच्च बनाउन परामर्श दिदै आएको छ । ल्याकले सेवा दिदै आएको बाहेकका अरु पीडितहरु पनि सम्पर्कमा आएको खण्डमा परामर्श दिन्छ । दैनिक ४ देखि ५ जना त्यस्ताे सेवाग्राहीहरूलाई कानुनी तथा मनोसामाजिक परामर्श दिइरहेको कार्यकारी निर्देशक न्यौपानेले बताइन् ।

“अदालतका विचाराधिन मुद्दाका फाइलहरू जलेका पीडितले भएको प्रमाण पनि सबै जल्यो अब के हुन्छ भनेर एकदमै आत्तिएको, चिन्तित भएको मनस्थितीमा सम्पर्कमा आउनुहुन्छ । घण्टौ रुनुहुन्छ, ” उनले भनिन्, “हामीले हामीसँग पनि केहि  प्रमाण राखेका छौं । सबैको यस्तै भएको छ, केही निकास निस्कन्छ होला भनेर सम्झाएर पठाउछौं । “ विपद्, महामारी,  संकट र बिषम परिस्थितीकै बेलामा महिला, कमजाेरहरूमाथि हिंसा हुने जाेखिम बढ्ने हुदा सरकारले भागेका कैदी फर्काउन द्रुत गतिमा काम गर्नुपर्ने अधिवक्ताहरूकाे माग छ ।

गत असार गोतामकोट स्वास्थ्य चौकीमा ५४ जनाले मानसिक तथा मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका थिए । तस्बिरः सी.एम.सी. नेपालको फेसबुक ।

अर्की अधिवक्ता शशी बस्नेतले प्रहरी र तिनका कार्यालयहरूमा आक्रमण भएपछि राज्यकाे सुरक्षा उपस्थिती नै कमजाेर बन्न पुगेकाले अधिवक्ता समेत जाेगिएर हिड्नुपर्ने स्थिती बनेकाे बताइन् । “सामान्य अवस्थामै पनि गम्भिर प्रकृतिका मुद्दामा मिलापत्र गर्ने, धाकधम्की दिने गर्छन्, अहिले त अदालत, प्रहरीमाथि नै क्षति भएको छ । केही भैइहाले राज्यले नै सुरक्षा दिने स्थिती छैन । मुद्दा  हेरिरहेका अधिवक्ता नै जोगिएर हिड्नुपर्ने स्थिती छ,” बस्नेतले भनिन् । 

चाेरी डकैतीकाे डर उत्तिकै 

०८१ असार मसान्तसम्म देशैभरी २ हजार ६६० प्रहरी कार्यालयमा ७५ हजार ३९३ प्रहरी कार्यरत रहेको आर्थिक बर्ष ०८०/०८१ को राष्ट्रिय किताबखाना (प्रहरी) को वार्षिक प्रतिवेदनमा उल्लेख छ । तर, प्रहरीहरु पहिले जसरी नागरिककाे शान्ति सुरक्षामा तैनाथ हुन सकेका छैनन् । काठमाडौं उपत्यका प्रहरीका प्रवक्ता शेखर खनालका अनुसार बिशेषगरी दशैतिहार जस्ता ठूला चाडबाडमा मानिसहरु शहरबजारबाट गाउँ फर्किने, घर छोडेर आफन्तकहाँ चाड मनाउन जाने, आर्थिक कारोबार र गरगहनाको किनमेल बढ्ने भएकाले चोरीडकैतीको जोखिम बर्षैपिच्छे नै हुने गरेको छ । यसपाली फरार कैदी र थुनुवाहरुले सुरक्षा चुनौती झनै थपिएको छ ।

आउदै गरेको दशै काठमाडौं बाहिर गएर आफन्तहरुसित रमाइलो गरी मनाउने सोचेका बुढानिलकण्ठकी ६२ बर्षिया रेखा राई खनाल र उनका श्रीमानले चोरी डकैतीको जोखिम भएकाले पुर्वयोजना नै रद्ध गरेका सुनाए । “सबै आफन्तहरु भेट्ने, रमाइलो गर्ने भनेर योजना बनाएका थियौं, तर चोरी हुने डरले घर छोडेर जाने स्थिती नै रहेन,” खनालले भनिन्, “सिसिक्यामेरा जडान त गरेका छौं, त्यतिले मात्रै सुरक्षा नहुने देखियाे, यसपालीकाे दशै काठमाडौंमै जेजसरी हुन्छ मनाऔं भन्नेमा पुगेका छौं ।” 

रात्रीकालिन टोल गस्तीमा स्वतस्फुर्त खटिएका चितवनको भरतपुरस्थित ज्ञानज्योति टोलका स्थानीय । तस्बिर : ज्ञानज्योति टोल विकास संस्थाको फेसबुक

सामान्यतया दशैतिहार लगायतका चाडबाडकाे बेला चाेरीडकैती हुने गरेकामा यसबर्ष हजाराै कैदीहरू कारागार बाहिरै हुदा चाेरी र असुरक्षा बढेकाे स्थानीयले महसुस गरिरहेका छन् । ललितपुर बस्ने पुष्पा पौडेल भन्छिन्, “सडकमा प्रहरीको उपस्थिती नै पहिलेको भन्दा निकै घटेको छ ।” यसकारण काठमाडाैं लगायत देशका विभिन्न भागमा स्थानीयहरु आफैले रात्रीकालिन गस्ती गरिरहेका छन् । सिसिटिभि क्यामेरा जडान गर्न थालेका छन् । कतिपय टोल बस्तीका स्थानीयहरु मिलेर सुरक्षा गार्ड भर्ना गरेर सुरक्षाको चाजोपाँजो मिलाएका छन् ।

“प्रहरीभन्दा पहिले हामी स्थानीयहरु आफै जागेर आफ्नो सुरक्षा थाल्यौं,” कोटेश्वरस्थित स्थानीय कृष्ण मुरारी कोइरालाले भने । प्रदर्शनकारीहरुले ध्वस्त बनाएर छाडेका कोटेश्वर चोक स्थित ट्राफिक र प्रहरी कार्यालय, झोलुगें पुलनेरको अर्को प्रहरी बिट पुनःस्थापना गरेर सुरक्षाकर्मीलाई ड्युटी फर्कने वातावरण बनाएका छन् । अहिले पहिलेको भन्दा स्थिती सामान्य हुदैगैरहेकाे हुनाले कोइरालाका टाेलबासीले राती ९ बजेदेखि ११ बजेसम्म गस्ती गर्छन् । मदिरा पसलहरु ९ बजेभित्रै बन्द गराउन अनुरोध गर्छन् । कैदीहरु लुकेको वा शंकास्पद गतिविधि भैरहेको थाहा पाएमा प्रहरीमा खबर गर्छन् । “प्रहरीका थुप्रै हातहतियार लुटिएका हुनाले अपराधिक व्यक्ति वा समुहहरुसंग बिना हतियारका समुदायका मान्छेले मात्रै प्रतिकार गर्न जादा खतरा हुने भएकाले त्यस्ताे पाएमा खबर गर्नु भनेर प्रहरीले भनेकाे छ,”  काेइरालाले भने। 

अपर्याप्त प्रहरी सुरक्षा

यता प्रहरी प्रवक्ता घिमिरेले भने चाडपर्वकाे समय पनि भएकाले सम्भावित अपराध, चाेरी, लुटपाटकाे आकलन गरेर सुरक्षा रणनीति बनाएकाे, सुरक्षााकाे प्रत्याभुती गराउन प्रहरीकाे तल्लाे युनिटसम्म सर्कुलर जारी गरेकाे, नागरिक समाज र टाेल सुधार समितिहरूसंग समन्वय गरि सुरक्षा व्यवस्थापनमा खटिएकाे दाबी गर्छन् । “अस्ती एक दिनको घटनापछि प्रहरी सेवाको जुन अभाव महसुस भएर नागरिकहरु जुटेर क्षति भएका संरचनामा सफाइ गरिदिने, पहिलेजसरी भवनहरू नभएपनि एउटै कोठाबाटै भएपनि सेवा सुचारु गर्ने वातावरण बनाइदिनुभएको छ । यसले प्रहरीमा आत्मबल थपेको छ ।” 

कारागार व्यवस्थापन विभागका न्यौपानेले फरार कैदीहरूलाई सकेसम्म छिटो नियन्त्रणमा लिन प्रहरी र जिल्ला सुरक्षा समितिहरु परिचालन गरि खोजतलास भैरहेको बताए । हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरी फरार कैदीको खोजी, नियन्त्रण तथा पक्राउ कार्य भैरहेको छ । “अध्यागमन र भारतसंगको सिमा नाकामा पनि कडाइ गरेका छाैं, छिटाेभन्दा छिटाे नियन्त्रण लिनेमा जाेड दिएका छाैं,” उनले भने । यसैगरी, असोज १० गते कारागार विभागले अर्को सुचना जारी गर्दै फरार कैदीहरु असोज २० गतेभित्रमा कारागारमा फर्किन पुनः आह्वान गरेको छ ।

क्यान्भामा सिर्जित तस्बिर।

तर अहिलेकै अवस्थामा याैनजन्य एवम् लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षााकाे प्रत्याभुती गराउन गाह्रो भएको ल्याककी कार्यकारी निर्देशक न्यौपाने बताउँछिन् । उनले प्रहरीकाे उपस्थिती कतिसम्म फितलाे अवस्थामा पुगेकाे छ भन्ने प्रसंग साझा गरेकी छन् । हालै काठमाडाैंकी एक महिला घरेलु हिंसामा परेपछि नजिकैकाे प्रहरी चाैकीमा उजुरी गर्न गएकी थिइन् । तर प्रहरीले आफुहरुकै अवस्था दयनीय रहेकाे भन्दै पीडितप्रति खासै चासो नदेखाएपछि उनी कानुनी र मनोसामाजिक परामर्शकाे गुहार माग्दै ल्याकमा आइपुगेकी थिइन् । 

पूर्ण सुरक्षाको प्रत्याभुति नभैसकेकाले अधिवक्ता र मुद्दाका सरोकारवालाले भने प्रभावितहरुलाई स्वयम् सतर्कता अपनाउन सुझाव दिने गरेका छन् । “मैले चाहि कहि हिडडुल गर्दा सतर्क हुनु, एक्लै नहिड्नु, परिवार र साथीभाइहरुसँग  समूहमा हिड्नु, आफ्नो सुरक्षामा ख्याल गर्नु, केही अप्ठेरो परिस्थिती आइलाग्यो भने तुरुन्तै खबर गर्नु भनेर सम्झाइ बुझाइ गरेको छु,” अधिवक्ता तामाङले भनिन् ।

(कभर फोटोः जेलबाट भाग्दै गरेका कैदीहरु । Image source: PTI)

The Kids Are Not Okay!

गत हप्ता भएका तोडफोड, आगजनी, गोली प्रहारजस्ता हिंसात्मक गतिविधिले तर्सिएका बाबु नानीहरुसँग कसरी र के कुरा गर्ने?

विद्या राई (काठमाडाैं)

टिकटकको एउटा भिडिओमा एक जना बालक एकोहोरो रोइरहेका छन् । सपिङ जाने गरेको भाटभटेनी जलेको देखेर छोरो रोइरहेको भन्दै अभिभावकले उक्त भिडिओ अपलाेड गरेकी छन् । भिडिओमा अभिभावकले सोधिरहेका छन्, “बाबु किन रोएको ?” बालकले भन्छन्, “भाटभटेनी जलेर !” अभिभावकले फेरि सोध्छन्, “भाटभटेनी जलेर के हुन्छ त सानुलाई !” बालकले भन्छन्, “दशैमा भाटभटेनी जान पाएन भनेर ।” एकहप्ता अघि अपलोड गरिएको भिडिओबुधबारसम्म ३२ सयले हेरिसकेका छन्, १९१ जनाले मन पराएका छन् र ३८ वटा कमेन्टहरु छन् । कतिपयले कमेन्टमा सान्त्वना दिएका छन् ।

गत हप्ता जेन जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, गोली प्रहारजस्ता हिंसात्मक गतिविधिका तस्बिर र भिडिओहरु देखेपछि बालबालिकामा पिर, चिन्ता, डर र त्रास फैलिएको छ । कतिपय अभिभावकले आफ्ना स-साना बालबालिकाको त्यो अवस्थाबारे टिकटक, इन्स्टाग्राम, फेसबुक लगायतका सामाजिक सञ्जालमा भिडिओ सामाग्री पनि अपलाेड गरेका छन् । जहाँ बच्चाहरु रोइरहेको, पिडा, र त्रास महसुस गरिरहेको देखिन्छ ।

कोटेश्वोर भाटभटेनीको गेटबाट जलेको भवनको सरसफाइ हेर्दै । तस्विर: राजन कठेत

गत हप्ता काठमाडौं र देशैभरी भएको जेन जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले स-साना बालबालिकाहरू मानसिक आघात (मेन्टल ट्रमा) बाट गुज्रिरहेका छन् । बालबालिकाहरूले ति विध्वंसात्मक गतिविधि सामाजिक सञ्जाल र टेलिभिजनमा देखेर, अभिभावकले गरेको कुराकानीबाट थाहा पाएका छन् । कतिपय अभिभावकले छोराछोरीलाई यस्ता सामाग्रीबाट टाढै राखेपनि आइतबारदेखि स्कुल सुचारू भएपछि स्कुल आउजाउ गर्ने क्रममा घर, गाडी, सरकारी तथा नीजि भवनहरू जलेको देखेर साथै साथीभाइहरूबाट सुनेर थाहा पाएका छन् । कतिपयले घटना हुदाबखत अभिभावकसंगै जाेगिने क्रममा त कतिपयले छिमेकको घरमा आक्रमण, आगजनी भएको देखेर थाहा पाएका छन् । यसरी घटनासंग ‘एक्सपोजर’ भएका स-साना बालमष्तिष्कमा यसको असर परेको मनोविदहरु बताउँछन् ।

गत भदौ २३ र २४ गते व्याप्त कुशासन, भ्रष्ट्राचार र एकसाथ २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएकाे सरकारी निर्णय विरुद्ध देशव्यापी जेन जी आन्दोलन भयो । पहिलो दिन प्रदर्शनकारीमाथि प्रहरीले बलजफ्ती दमन गर्दा काठमाडाैंकाे नयाँबानेश्वरमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भयो । यही आक्रोश विरुद्ध भोलीपल्ट गरिएको प्रदर्शनमा अराजकता घुसेपछि प्रदर्शनकारीले देशकै संघीय राजधानीमा संसद भवन, अदालत, प्रहरी चौकी, सिंहदरबारका मन्त्रालयलगायतका सरकारी संरचना, शपिङ मल, सुपर मार्केट, गाडीका शोरुम, नेता र व्यापारीका घर, राजनीतिक दलका पार्टी कार्यालयहरु, सवारी साधनहरुमा आगजनी गरे ।

बालुवाटारकी आस्था पन्तको घर प्रधानमन्त्री निवास आसपास पर्छ । भदौ २४ गते प्रदर्शनकारीहरुको एउटा समूहले प्रधानमन्त्री निवास लगायतका भौतिक संरचनामा विध्वसं मच्याएका थिए । आन्दोलनकारीले होहल्ला गर्दै, ढुंगामुढा गर्दै, आगजनी गरे । त्यसको प्रतिकारमा सुरक्षाकर्मीले गोली चलाएको र हेलिकप्टर उडिरहेको घटनाहरु उनकी छ बर्षकी छोरीले ‘नोटिस’ गरिरहेकी हुन्थिन् । आस्थाले पनि बाहिर बम पड्कीरहेको आवाज आइरहेको हुनाले छोरीलाई झ्याल छेउछाउ नजान र कौसीमा ननिस्कन भनेकी थिइन् । यो कुराले छोरी झस्किरहेकी हुन्छिन् ।

“यहाँ ‘सेफ्टी इस्यु’ छ भन्ने उसलाई मनमा भैरहेको जस्तो छ, “झ्याल छेउ जान मिल्छ मिल्दैन”, “कौसीमा निस्कन मिल्छ मिल्दैन” भनेर सोधिरहेको हुन्छ,” आस्थाले भनिन् । कक्षा १ मा पढ्ने छोरीको स्कुल सोमबार दिउसो देखि नै छुट्टी भएको थियो । उनी घरैमा अभिभावकसित रहेपनि बढि सचेत भएको व्यवहार देखाउँछिन् । उनलाई सहज गराउन आस्था र उनका श्रीमानले छाेरीसंग कुराकानी गरिरहने, साेधेको प्रश्नका जवाफ दिइहाल्ने प्रयत्न गर्छन् ।

“छोरीले किन यस्तो भयो भनेर सोध्दा देशमा राम्रो हुन लागेको छ, नयाँ परिवर्तन ल्याउन बेलामा केही नराम्रो पनि त हुन्छ, जस्तो तिमिलाई जन्माउने बेलामा मलाई कति गाह्रो भएको थियो, अनि बल्ल तिमि जस्तो राम्रो छोरी जन्मिएको थियौ भनेर बुझाउने कोशिस गर्छु,” आस्थाले भनिन् ।

Himal Subedi/ Wikimedia Commons

आन्दोलनले सुरक्षा जोखिम बढाएपछि विद्यालयको पठनपाठन एक्कासी रोकियो । गत हप्ता भक्तपुरमा वि क्यान प्रि–स्कुलकी प्रिन्सिपल शुष्मा दाहालले रुटिन लाइफमा बानी परेका अटिजम भएका बालबालिकाको स्कुल अचानक रोकिइदा र ढुक्कले बाहिर हिडडुल गर्न बाहिर निस्कन नपाउँदा अभिभावक र बच्चाहरुमा छटपटी सिर्जना भएको बताएकी थिइन् । पछिल्ला दिनहरू दैनिकी विस्तारै सामान्य बन्दै गएपछि आइतबारदेखि प्रि-स्कुल सुचारु गरे । शुष्माको प्रि–स्कुलमा प्ले ग्रुप, नर्सरी र एलकेजीमा पढ्ने ३५ विद्यार्थी छन् । एक हप्ताको घर बसाइपछि स्कुल आउन पाउँदा बालबालिकाहरु खुसी भए पनि, उनीहरुमा एक किसिमको डर र चिन्ता देखिन्छ ।

शुष्माले सबैजसो बालबालिकामा घर बाहिर निस्कनु हुदैन भन्ने डरको मानसिकता बसेको पाइन् । “माहौल बाहिर राम्रो छैन, निस्कनु हुदैन, गोली हानिदिन्छन् भन्नेसम्मको डर मानिरहेको पनि पाए,” उनले थपिन् ।

बालदिवसकै दिन (भदाै २९) स्कुल सुचारु गरेको हुदा बालबालिकाहरुलाई सकेसम्म रमाइलो गराउने प्रयत्न गरेको शुष्माले सुनाइन् । “उनीहरू जसरी खुसी हुन सक्छन् र पिडा भुल्न, सामान्य स्थितीमा फर्कन सक्छन्, विभिन्न गतिविधिहरू गरायौ, बालदिवस कै दिन परेकोले चकलेट गिफ्ट शेयरीङ गरायौ, कसैले नाँचे, कसैले गाए, कसैले खेले,” उनले भनिन्, “एकहप्तापछि बच्चा एकदमै खुसी भएको भनेर एकजना अभिभावकले खुसी शेयर गर्नुभएको थियो ।”

कतिपय बालबालिकाले संगै जोडिएको घरमा अगाडी दनदनी आगो बलिरहेको, कुट्लान्, काट्लान् भन्ने डरको स्थिती पनि देखेको हुनाले बच्चाहरू सम्हाल्न गाह्रो भैरहेको सुनाउने गरेका थिए । 

“कतिपय अभिभावकले जानेर र नजानेर यस्तै समाचार साना बच्चाहरुको अगाडी हेरिरहेका हुन्छन्, जो बच्चालाई आन्दोलन भनेकै के हो थाहा हुदैन, आठबर्षमुनिका बच्चाहरु साच्चिकै प्रतिकुल परिस्थितीको मारमा छन्,” काठमान्डु युनिभर्सिटीबाट प्रारम्भिक बाल विकास बिषयमा ‘एमफिल’ गरिरहेकी शुष्माले भनिन् । उनकै अध्ययनअनुसार प्रारम्भिक बाल विकासको उमेर समुहका बालबालिका बढि संवेदनशिल हुन्छन् ।

युनिसेफका अनुसार बच्चा जन्मेदेखि आठबर्ष उमेरसम्मको अवधिलाई प्रारम्भिक बाल विकासको चरण मानिन्छ । बालबालिकाको मष्तिस्क विकासको संवेदनशिल चरण भएकाले अभिभावकको पालनपोषण, हेरचाह, र वरपरको वातावरणले महत्वपुर्ण भुमिका खेल्दछ । साथै बालबालिकाको शारिरीक, मानसिक, र भावनात्मक विकासको महत्वपुर्ण चरण पनि यही नै हो ।

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेपछि काठमाडौं उपत्यकाको जनजीवन पुरानै लयमा फर्किन थालेपछि आइतबारदेखि कक्षा सुचारू गरेका हुन् । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयको पठनपाठन सुचारुका लागि आइतबारदेखि नै आवश्यक तयारीमा जुट्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको थियो । विद्यालयमा कुनै क्षति भए नभएको यकिन गर्दै अभिभावकसँग सम्पर्क गरेर विद्यार्थीको अवस्था बुझ्न र भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

यस्ता हिंसात्मक गतिविधिले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भिर असर गर्ने अध्ययनहरुले देखाएका छन् । गतबर्ष बाङ्लादेशमा भएको हिंसात्मक प्रदर्शनले गर्दा स्कुल जाने उमेरका ४५.५ प्रतिशत बालबालिकामा मानसिक आघात र अस्थिरता थपेको सर्भेले देखाएको थियो । उनीहरुमा बाढि लगायतका विपद् र कोभिड महामारीको सन्त्रास नसकिदै राजनीतिक परिवर्तनका लागि भएको युवा आन्दोलनले अझ डर र चिन्ता थपेको थियो । 

विश्व स्वास्थ्य संगठनका अनुसार जुनसुकैखाले द्धन्द्ध तथा संकटद्धारा उत्पन्न हुने पिर, चिन्ता, असुरक्षाको अवस्थाले बालबालिकाको प्रारम्भिक बाल विकास, सिकाइ र दिमागी विकासमा उल्लेख्य अवरोध पुर्याउँछ । यही उमेरका बालबालिकाले आफ्ना बुझाइहरु अभिव्यक्त गर्न नसक्ने हुदा अभिभावकले पनि बुझ्न गाह्रो भैरहेको हुन्छ । यस्तो बेलामा मस्तिष्कमा पर्ने नराम्रो छापले लामो समयसम्म प्रतिकुल असर पार्ने हुदा अभिभावकहरु नै बेलैमा सावधानी अपनाउनुपर्ने मनोचिकित्सक र मनोविदहरूले बताउँछन् ।

उनीहरूका अनुसार होहल्ला, हुलदंगा, ढुंगामुढा गरेको, गोली चलाएको, मान्छे मारिएको, घाइते भएको, रगतपक्ष भएको, आगलागी भएको, धुलोधुवा फैलिएको डर, त्रास, भय, विभत्स घटना अन द स्पट हेरेर वा मोबाइल / टेलिभिजन स्क्रिनमा तस्बिर र भिडिओहरु देखेपछि डराउने, अतालिने, झस्किने, नराम्रो सोच आउने, निदाउन नसक्ने, असुरक्षित महसुस गर्ने, चिटचिडाहपना हुने,, बढी रुने, रोएपछि शान्त बनाउन गाह्रो हुने, खाना नखाइदिने, मानसिक समस्यालाई बच्चाहरूले व्यक्त गर्न नसक्ने भएकाले शारिरीक लक्षण देखाउने, स्कुल जान नचाहाने, स्कुल गएपनि टोलाउने, खेल्न नजाने हुन्छन् । घरमा  ढोका लगाउँदा, किलाकाटी ठाेक्दा आउने आवाजले पनि डराउने हुन सक्छन् ।

“क्षति गरिएका कति घरका बच्चाहरूले अभिभावकसंगै अतालिएर भाग्नुपरेको छ, अर्काको छिमेकीको अवस्था वा बाहिर स्कुल वा कतै आउजाउ गर्दा सरकारी नीजि संरचना जलेको देखेका छन्, कतिको स्कुल जलेको छ, स्कुल जलाइएको सुनेका छन्, यस्तो किन भैरहेको, पहिला त बच्चामा द्विविधा पैदा हुन्छ, अनि जहिले पनि ‘सर्भाइभल मोड’ भन्छ साइकोलोजिकल भाषामा, एकदम अलर्ट भएर बसिरहनुपर्ने, कही केहि हुन्छ कि कोही हुन्छ कि भनेर,” मनोविद् करूणा कुँवरले भनिन्, “बच्चा सोध्दा अभिभावकलाई थाहा छैन कसरी ‘डिल’ गर्ने भनेर किनभने आफै पनि एकदमै तनाव अवस्थामा हुनुहुन्छ ।”

अभिभावककाे त्यो ‘सर्भाइभल मोड’ले गर्दा बच्चालाई पनि प्रभाव पार्छ । अभिभावक नै सकेसम्म पहिलेकै दिनचर्यामा फर्कने, छोराछोरीसँग उनीहरूले बुझ्ने भाषामा घटनाक्रम बताउने, सँगै खाना खाने, सँगै समय बिताउने, समाचार फोन हेर्न कम गर्ने, वास्तविक खालका सकरात्मक आशाका कुराहरू शेयर गर्ने गरेर आघात कम गर्न सकिने मनोविद् कुँवर सुझाउँछिन् ।

मनोचिकित्सक ऋृषभ कोइरालाले पनि यस्तो असामान्य परिस्थितीमा अभिभावकले नै सम्हालिएर सकरात्मक र संयम भएर सहजीकरण गर्नुपर्ने जोड दिन्छन् । “अभिभावक कै मुख्य भुमिका हुन्छ, किनभने बच्चाले आफ्नो अभिभावकलाई हेरेर मानसिकता बनाइरहेको हुन्छ, यती गर्दा गर्दै पनि बच्चा डराउने, तर्सिने, आत्तिने, बोलचाल कम गर्ने जस्तो असामान्य व्यवहार देखाउँछ भने बाल विशेषज्ञमा जानुपर्छ,” उनको सुझाव छ ।

यता भक्तपुरकै अर्का अभिभावक विशाल भण्डारीले भने छ बर्षको आफ्नो छोराको हेरचाहमा मनोचिकित्सक कोइरालाले भनेजस्तै बिशेष ध्यान दिने गरेको सुनाए । “मैले र मेरो श्रीमतीले आगो बलिरहेको, गोली चलिरहेको भिडिओहरु उसको अगाडी हेर्दैनौं, अनुशासनमा बस्नुपर्छ भनेर सिकाएका छौ, उसलाई फोन चलाउन परे हाम्रै ‘कन्ट्रोल’मा हुन्छ,” उनले भने । तर सबै बालबालिकाले अभिभावकबाट यस्तो वातावरण नपाउने हुदा प्रारम्भिक बाल विकासको चरणमा रहेका बालबालिकालाई नयाँ पुस्ताकै आन्दोलनले नराम्रो मानसिक आघात पार्न सक्ने चिन्ता व्यक्त गरे ।

मानसिक रोग विशेषज्ञ डा. रितेश थापाले नानीबाबुहरुमा डर र आघात कम गर्न बाबुआमाले बेलैमा संयमता अपनाएर ‘साइकोलोजिकल फस्ट एड’ (पिएफए) गराउनुपर्ने सल्लाह दिन्छन् । “प्रदर्शनपछि सुरक्षित छ भन्ने बाबुआमाले महसुस गराउनुपर्छ। ‘ओभर प्रोटेक्टिभ’ हुनु हुदैन । अहिलेको बच्चाहरु त्यस्ता घटनासंग फोनमा हेरेर, साथीसर्कलमा सुनेर, वा कतै न कतैबाट थाहा पाइहाल्छन्, त्यही भएर बच्चाले बुझ्ने सरल भाषामा भनिदिनुपर्छ,” थापाले भने, “दुइ दिनको आन्दोलनमा भएको क्षतिले असर सबैलाई पार्छ नै, तर बच्चाहरूको हकमा बाबुआमा नै संयम हुनुपर्यो, बाबुआमा आफु आत्तिएर बच्चा नरोउ भनेर विश्वास गर्दैन, उनीहरुलाई खुसी राख्न ध्यान दिनुपर्छ ।”

बोजु बजै पड्कास्ट् कहाँ र कसरी सुन्ने?

बोजु बजै पड्कास्ट्बारे कसैसँग कुरा गर्दा, हामीलाई प्रायजसो सोधिने प्रश्न Boju Bajai podcast के हो? यो कहाँ सुन्न सकिन्छ?’ हुने गर्दछ। पड्कास्ट् भन्नाले इन्टरनेटमा राखिने अडियो सामग्री भनेर बुझ्न सकिन्छ, र पड्कास्ट् विभिन्न app बाट सुन्न पनि सकिन्छ। कतिजनाले त भिडियो पड्कास्ट् बनाएर मज्जाले YouTube मा पनि राख्ने गर्छन्, तर यो आलेखमा चाहिँ हामीले पड्कास्ट् सुन्न मिल्ने platform हरुलाई मात्र समेटेका छौ। 

अब सबैको फोन मागी मागी त्यहाँ कसरी Boju Bajai podcast सुन्ने भनेर बुझाउन चाहिँ गाह्रो पर्ला।  त्यसैले सबैलाई Boju Bajai र अन्य रमाइलो पड्कास्ट् खोज्न, सुन्न र साथीहरुलाई सुझाउन सजिलो होस् भनेर हामीले यसबारे यो छोटो आलेख तयार पारेका छौ। 

कृपया पढ्नुहोला, अनि पड्कास्ट्को संसारमा रमाउनु होला।

Boju Bajai लाई Apple Podcasts मा कसरी सुन्ने? 

१. iPhone मा Apple Podcasts app खोल्ने 

२. Search मा गएर Boju Bajai टाइप गर्ने 

३. Boju Bajai को homepage मा दाँया पट्टि माथि + मा क्लिक् गरेर Boju Bajai podcast subscribe गर्ने

४. ‘Episodes’ मा गएर See All क्लिक् गर्ने

५. त्यहाँबाट आफूलाई मन पर्ने episode मा क्लिक् गर्ने 

६. अब ‘Play’ क्लिक् गर्ने अनि Boju Bajai को रमाइलो गफ-गाफ सुन्ने!

   Boju Bajai लाई Spotify मा कसरी सुन्ने? 

१. फोनमा  Spotify app   खोल्ने 

२. Search मा गएर Boju Bajai टाइप गर्ने 

३. Boju Bajai को homepage मा Follow क्लिक् गरेर Boju Bajai podcast subscribe गर्ने

४. नयाँ episode नछुटाउन ‘Get notified of new episodes’ मा toggle button on गर्नु

५. ‘Episodes’ मा गएर मन पर्ने episode मा क्लिक् गर्ने

६. अब ‘Play’ क्लिक् गर्ने अनि Boju Bajai को रमाइलो गफ-गाफ सुन्ने!

 

 

Boju Bajai लाई Google Podcasts मा कसरी सुन्ने?  

१. फोनमा  Google Podcasts app  खोल्ने 

२. Google Podcasts app को  Explore मा गएर Boju Bajai टाइप गर्ने 

३. Subscribe button मा क्लिक् गरेर Boju Bajai podcast subscribe गर्ने

४. नयाँ episode फोनमा डाउनलोड गरेर सुन्न ‘Auto download new episodes’ मा toggle button on गर्ने

५. नयाँ episode नछुटाउन ‘New episodes notifications’ मा toggle button on गर्ने

६. अब आफूलाई मन पर्ने episode मा क्लिक् गर्ने अनि Boju Bajai को रमाइलो गफ-गाफ सुन्ने!

 

Boju Bajai लाई SoundCloud मा कसरी सुन्ने?  

१. फोनमा  Soundcloud app  अथवा soundcloud.com/bojubajai खोल्ने 

२. Soundcloud app को  search मा गएर Boju Bajai टाइप गर्ने 

३. Follow क्लिक् गरेर Boju Bajai podcast subscribe गर्ने

४. तल Tracks मा गएर See All मा क्लिक् गर्ने

५. त्यहाँबाट आफूलाई मन पर्ने episode मा क्लिक् गर्ने अनि Boju Bajai को रमाइलो गफ-गाफ सुन्ने!

Boju Bajai लाई हाम्रो website www.bojubajai.org मा कसरी सुन्ने?  

१. Browser मा www.bojubajai.org search  गर्ने

२. ‘Episodes’ मा गएर आफूलाई मन पर्ने episode खोज्ने

३. Episode को play मा क्लिक् गर्ने अनि Boju Bajai को रमाइलो गफ-गाफ सुन्ने!

 

Become A Patron

Know More

Balance the panel nepal

Know More